|
Getting your Trinity Audio player ready...
|
शुरुमै महसुस हुन्छ, खासै जमेको छैन, केही त गडबड छ। एउटाले स्क्रिप्ट लेखेछ, अर्कोले बीचमै बिथोलेछ कि क्या हो। पुरानै फ्लेवर, मेकिङ कमजोर, अस्पष्ट, गासगुस परेको। तर यस्तो सोच आइरहँदा पनि कताकता फेरि मन भने छोइरहन्छ – बरिष्ठ बलराम, भर्खर भर्खरै जन्मिएको, हलहरूमा दर्शक स्वागत गर्न आतुर नेपाली कथानक चलचित्र।
शुरुका पन्ध्र–बिस मिनेट कथाको रफ्तार ओभरस्ट्रेच देखिए पनि यसले बिस्तारै दर्शकमाझ पकड जमाउँछ, जब बलरामको बाल्यकालको तस्बिर पर्दामा छाउँछ। रोइरहेको अनाथ बालक (सानो विजय बराल, अर्थात् बलराम) लाई आफैंले खाँदै गरेको खानेकुरा हातमा थमाएर, एकछिनमै आफैंसँग घरतिर लग्दै गरेको; सन्तानविहीन भैरहँदा आफैं बाबुआमा बन्ने (माउत्से गुरुङ र पशुपति राई), त्यही टुहुरोलाई छोरा बनाएर पाल्ने रहर, अठोट देखाईएको दृश्यपछि प्रस्तुतिले गति लिन्छ ।

अघिसम्म क्यारेक्टर बिल्डिङ पनि गतिलो भएन भनिरहँदा, अब भने त्यसले केही ढाँचा लिन्छ। बलराम पूरै फर्ममा, क्यारेक्टरमा भिज्न थालेको हुन्छ भने कथामा ‘ल्याङल्याङ’ नभई चुनौतीहरू, गरीबिको मार, संरचनात्मक भ्रष्टाचार, गुण्डागर्दी र थिचोमिचोको जगमा उभिएका सिक्वेन्सहरूले राहत दिन्छन्।
प्रेम सम्बन्धमा सब्स्ट्यान्स देखिन थाल्छ। हिरोइन (संमृद्धि अर्याल) सुन्दर मात्रै होइन, परेको बेला हिरोको आत्मविश्वासको जननी बनेको देखिन्छ। प्रेम साँच्चै शक्तिशाली चीज हो – चमत्कार त गर्छ नै। तर, हिरोका लागि जीवन-मरणकै प्रश्न बनेको टेन्डर हत्याउन अहम् भूमिका खेलेता पनि, सिनेमाले हिरोइनको उपयोगिता र संभावित दह्रो रोल भने यहीं छोडिहाल्छ। जबकि, टेन्डर बिजेताको यो फाइटर ग्याङमा हिरोइन राम्रैसँग अटाउन सकिन्थ्यो, कलाकार समृद्धिमा त्यो आभा, त्यो खुबी पनि जत्ती थियो । यति गरेको भए नयाँ पुस्ता – जसले समानतालाई आत्मसात गर्छ, अलि बढी नै ताली पड्काउँथ्यो ।
खैर, फेरि पनि सिनेमाले मन भने कताकता छोइरहन्छ। त्यसैले त – त्रुटिहरूबीचको आकर्षण।
बरिष्ठको एन्ट्री अलि ढिलो हुन्छ। दयाहाङले खेलेको यस भूमिकामा एउटा अचम्मलाग्दो कुरा के हुन्छ भने, बरीष्ठ अर्थात् गुण्डा – प्रहरी, प्रशासन गोजीमै लिएर हिंड्ने, क्रसर व्यवसायमा एकछत्र राज गर्ने भएकाले भुईँमा न भाँडामा खुट्टा भएको हुन्छ। यसो हुँदा रीस उठ्यो कि बरीष्ठको मुख अलिअलि सुँक्कसुँक्क बाङ्गिन्छ। यो सुँक्कसुँक्कलाई आफ्नो क्यारेक्टरको ट्रेडमार्क बनाउन खोजेको कुरा सुरुमा दर्शकलाई ‘थाहा हुन्छ’। तर पछि बरिष्ठले आफैं त्यो लभभग बिर्सिन्छ, त्यति मेसो नपाएको देखिन्छ। बरु सुरुमै ‘धेरै नगर्नु नि’ भन्ने दर्शकलाई लाग्न सक्छ।

द्वन्द्व गजब छ। फाइट माष्टर सिनेमाले ‘अफोर्ड’ गर्न नसकेर हो कि , घुम्साघुम्सी मौलिक पाराको छ। उ परपर उडाउने, हुत्याउने, साउन्ड इफेक्टले नै जित्न खाल्को नक्कली छैन , साँच्चै घाइते बनाएर एकअर्कालाई राम्रो मसाज दिएको देखिन्छ:D । यसबीच बलरामका मामा, जसले भान्जाले आफूलाई किड्नी दिने लोभमा पैतालिस लाख सहयोग गरिदिन्छन् (बलरामलाई स्पष्ट नभनी यस्तो कागजमा हस्ताक्षर गराउँछन्), खै, कहिलेसम्म किड्नी चाहिने हो, भएको के हो, हट्टाकट्टा, हँसिला मामाले खासै भेउ दिँदैनन्। दर्शकलाई पनि के? मामा कौनसा लिड रोलमा हुन् र?
सिनेमाको बलियो कडी भनेको , अब अर्को सिन के हुन्छ वा कथा कसरी जाला भन्ने कुरा दर्शकलाई सहज अनुमान हुँदैन। अलि पर पुगिसकेपछि मात्रै बलराम र बरीष्ठबीच चेसका गोटाझैँ चालहरू सिर्जना हुँदै गएको ठम्याउन सकिन्छ – उही क्रसर व्यवसायको सेरोफेरोमा।

चितवनको रमणीय स्थल गोलाघाट, त्यहीँको नदीनाला, बालुवा–गीट्टी, र वातावरणले सिनेमालाई अर्ग्यानिक देखाउन भरपुर साथ दिएका छन्। केही संगीत र नाचगान छन् – लोकभाकाको न्याउली बनैमा , अग्रेसन स्वादको ‘काम झ्यापझ्याप् दाम झ्यापझ्याप्’ लगायत सबै मनोरञ्जनात्मक छन्।
कथा अनुसार बलरामको परिवारले दर्शकको पूरै सेन्टिमेन्ट खिच्नुपर्ने र बरीष्ठ ग्याङ, उठाइएका मुद्दा र भ्रष्टाचारप्रति वैराग्य महसुस हुनुपर्नेमा दर्शकले यत्तिको भावनात्मक सम्बन्ध भने महसुस गर्दैन। अभिनयमा खोट त छैन – विजय बरालको त छँदै छैन, न अन्य कमजोर छन्। यस अर्थमा, सम्पूर्ण फिल्म मेकिङमा पर्याप्त लगानी नभएको (बौद्धिक, आर्थिक) – त्यसैले, निर्देशन / प्रस्तुतिमा सुसूक्ष्मता अलि कम, कथाबस्तु अलि छरिएको मान्न सकिन्छ।
तैपनि सिनेमा रोचक नै छ, इन्टरटेनिङ छ। हेरेर निस्कँदा आनन्द नै आउँछ।